
कथा एउटा माझीको 2008-10-25,Saturday
काजीको घोडालाई इन्द्रावती तारेपछि पोल्टाभरि तारिफ थापेर र्फकन्थे पहिला । नदीकिनारमै रहेको बारीमा बिहानभरि घाँस काटेर भर्खर उकालो लाग्दै छन् अफ्नै घरतिर । ७५ वर्ष पुगे भक्तबहादुर माझी । तिब्बत-नेपाल व्यापारका गुन्टा र भेडा-च्यांग्रालाई डुंगा तारेको र काजी खानदानको बुहार्तनको स्मरण मात्र बाँकी छन् भक्तबहादुरमा ।
उनका केही स्मरणलाई कतिले रमेश विकलको उपन्यास 'अविरल बग्दछ इन्द्रावती'का पानामा त कतिपयले टेलिभिजनका पर्दामा हेरेका छन् । अरूका लागि त्यो कथा हुँदो हो तर, भक्तबहादुरका लागि पुरानो भोगाइ र व्यथा हो । आफ्ना कथा किताबका पाना र पर्दामा हेरेका होलान् भक्तबहादुरले ? 'नाइँ, कसरी हेर्नू ? किताब पढ्नै आउँदैन, आफ्नो घरमा टिभी छैन ।'
'यत्रो गर्दन थियो काजीको घोडाको, त्यो देख्दा जीउ नै थरर्र काम्थ्यो,' काजी नेत्रविक्रम थापाको प्रसंग आउनासाथ सम्झे झक्तबहादुरले आफ्ना पुराना दिन । त्यो घोडा निकै बलियो थियो रे ! घोडालाई पट्याउनै हम्मे । अर्को कुरो सम्झे, 'भक्तबहादुरका भाइ शिवसँग भने हार्थ्यो त्यो घोडा ।' लामो समय सिन्धुपाल्चोकको राजनीतिमा जरा गाडेका काजी दुई वर्षअघि बिते । आज काजी छैनन् र काजीको शासन पनि काजीको अन्त्यसँगै बिलाएको छ । काजीका कान्छा छोरा त काजीबाट डाक्टरमा फेरिएर इन्द्रावतीकिनारमै अस्पताल खोलेर बसेका छन् । दैनिकको कामकाजमा काजीलाई व्यहोरेका झक्तबहादुर पनि डाँडामाथिको जून भैसकेका छन् । तर, दुःखले उनलाई पछ्याउन छोडेको छैन र त बिहानैदेखि नदीछेउको बारीमा हँसियासँग जुधिरहन्छन् । आज पनि इन्द्रावती बगिरहेकै छ, उसवेलाको साथी इन्द्रावतीबाहेक कोही छैन भक्तबहादुरसँग ।
उनलाई लाग्छ- जिन्दगी भनेकै दुःख हो । तर, नदीको भंगालामा बगेका कयौँ रात र काजीको बुहार्तन बताउँदा पनि आफ्नो दुःखका पक्षमा लागेनन् उनी । मानौँ तटस्थ दर्शक हुन् भक्तबहादुर माझीहरूका दुःखका । 'इन्द्रावतीले बगाएर एक बिसौना तल पुर्याियो, बाँच्न त बाँचियो, ठक्करले पछि रगतै छदायो,' रोमान्टिक भावमा सुनाए उनले । त्यसरी इन्द्रावतीले बगाएको पनि ५० वर्ष बितिसकेछन् । २५ वर्षका बलिष्ठ थिए भक्तबहादुर त्यतिखेर । 'बल नपुगेर बगाएको होइन,' उनले स्पष्टीकरण दिए । कारण अर्कै सुनाए उनले, 'डुंगाका यात्रुले आफूसँग गहना भएको ढाँटेछन् नदीसँग ।' उनको मान्यताअनुसार डुंगा चढ्नेले आफूसँग बहुमूल्य वस्तु भए नदीलाई सुनाउनुपर्छ ।' पुरानो मान्यता पनि सुनाए । त्यसदिन बेहुला-बेहुलीलाई तार्दै थिए उनी ।
अहिले नाति-नातिनाहरू छन् आँगनभरि । केटाकेटीका घाँगरबाट छरिएका चिउराले भर्खर दसैँ सकिएको देखाउँथ्यो । घरिघरि झर्किन्थे भक्तबहादुर उनीहरूसँग । दसैँको कुरा गर्दा उनले आफ्ना पुराना दिन सम्झे । 'किपटको ओलक बुझाउन काजीसँगै भारी बोकेर डिल्लीबजार जान्थे हाम्रा बा । र्फकेर आउँदा खाँडीको भोटो ल्याउँछन् कि भन्ने आस लाग्थ्यो । तर, पैसा न सैसा कसरी ल्याउनू,' आफ्नो दसैँ सुनाए उनले । दसैँ र काजीका घरमा पाहुना आएका वेला दुवाली छेकेर माछा मार्नुपर्ने र काजीलाई बुझाउनुपर्ने चलन थियो भक्तबहादुरको । भन्छन्, 'माछा दिएपछि काजी कोटको गोजीमा हात घुसार्थे मुठीमा जति आयो त्यति नै पैसा दिन्थे,' उनले भने, 'तर एक सुकाभन्दा बढी कहिल्यै दिएनन् ।'
मान्छेको चेतनाले भन्दा बाटो र पुलले जुग फेरिएको विश्वास छ भक्तबहादुरमा । 'अहिले त मोटरले लैजान्छ सबै तिब्बती सामान र भेडा-च्यांग्रा,' आफूहरू पुरानो पुल भएको सुनाए उनले । दसैँ आएपछि भेडाका बथान र लुगाका गुन्टा रातभरि नसुती तारे उनले । रातमा २२ खेपसम्म डुंगा तार्थे भक्तबहादुर । 'नेपाल खाल्डो छिर्ने पूर्वको ढोका नै यही हो, रातभरि भेडा र लुगाका गुन्टा तार्ने खुब चटारो हुन्थ्यो,' उनले सुनाए । भेडाको एक बथान तारेपछि बथानको एउटा भेडा उनीहरूले पाउँथे । 'त्यो भेडो त डुंगालाई भोग दिएर भोज खुवाउनुपथ्र्यो घर लैजान पाइन्नथ्यो,' उनले भने । नेपाल-तिब्बत व्यापारका सामानलाई नदी तार्ने मात्र होइन हुलाकका चिठीहरू पनि जतिवेला आउँछन् उतिवेलै तार्नुपथ्र्यो उनीहरूले । 'साई-साई, सुई-सुई गर्दै घरलौरो राति नै जानुपथ्र्यो हुलाक आएपछि । नत्र त चिठी अलपत्र परिहाल्छ नि,' उनले आफ्नो पुरानो जिम्मेवारी सम्झे ।
जमाना फेरिएको भेउ पाएका छन् भक्तबहादुरले, 'नाति-नातिना स्कुल जान्छन् ।' किनकि, यो उनीहरूले गर्न नपाएको काम हो । उनका पालामा माझी, दनुवारले किताब पनि हेर्न हुँदैनथ्यो भन्छन् उनी । 'बाहुनहरूले पो पढ्थे त ढोडिनीमा गएर,' उनले भने । काभ्रे महादेवस्थानको ढोडिनीमा स्कुल खुलिसकेको रै'छ त्यतिवेला ।
जमानामा काजीको दुवाली छेकेका भक्तबहादुर उमेरभन्दा निकै बूढा छन् । तैपनि, घाँस-दाउरा र भैंसीगोठका काममा छोरा-बुहारीलाई सघाउँछन् । कारण, छोरा-बुहारीहरू अझै अरूको खेतीमा ज्याला गर्न जानुपर्छ । 'नत्र त ६ महिनालाई पनि खान पुग्दैन,' उनले भने । पाँच भाइमा जेठा भक्तबहादुरका एक मात्र छोरा भएकाले जीवननिर्वाह त्यति गाह्रो छैन । उनका अरू भाइ त झनै दुःखी छन् ।
रामशरण बजगाईं
bajagain_ramsharan25@yahoo.com
Source http://www.nayapatrika.com/newsdetail.php?id=810250531441282&n_id=80